हेटौंडा अस्पतालमा देखिएका कमजोरी सुधार्ने मन्त्री लामाको प्रतिवद्धता

तु खबर संवाददाता
२०७९ असार १३,सोमबार १५:२४

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल सुधारका लागि पहल गरिरहेका युवा अभियन्ताहरुको टोलीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउने बताएका हुन् ।

उनले नीतिगत एवम् कानूनी र अन्य केही समस्याका कारण अस्पतालले सोचेजस्तो गति लिन नसकेको भन्दै यसलाई समाधान गर्दै भौतिक संरचना र जनशक्ति बढाएर अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने बताएका छन् ।

युवाहरुको टोलीले अस्पताल सुधारका लागि गरेको खबरदारीको प्रशंसा गर्दै उनले मन्त्रालय र अभियन्ताहरुको एउटै चाहाना अस्पताललाई राम्रो बनाउने भएकाले सहकार्य गर्ने बताए । आगामी आर्थिक बर्षमा अस्पतालको पूर्वाधार एवम् उपकरणको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको र काठमाडौंका विभिन्न अस्पतालसंगको सहकार्यमा सेवा सुधार एवम् विस्तारको काम गर्न लागेको मन्त्री लामाले बताए ।

अस्पतालको बेड क्षमता बढाउने र जनशक्ति थप्ने काममा समेत मन्त्रालयले नीति तथा कार्यक्रममै समावेश गरेर काम अघि बढाएको उनको भनाई छ । स्वास्थ्य विमाका कारण अस्पतालमा बिरामीको चाप बढेकोमा आफु जानकार रहेको बताउँदै उनले बिमा बापतको रकम भुक्तानीमा ढिलाई हुँदा अस्पताल समेत समस्या रहेकाले यसलाई पनि समन्वय गर्ने बताए ।

अस्पतालका जनशक्तिहरुले जिम्मेवारीपूर्वक काम गर्ने, मन्त्रालयले परेको समस्या समाधान गर्ने र सरोकारवाला पक्षले कमजोरीलाई औल्याउँदै समाधानमा सहयोग गर्ने हो भने हेटौंडा अस्पताल छिट्टै नमूना अस्पताल बन्ने मन्त्री लामाको विश्वास छ ।

छलफलमा युवा अभियन्ताहरुको टोलीले अस्पतालमा चिकित्सक एवम् कर्मचारीले निर्वाह गर्नुपर्ने भूमिका, उपकरण व्यवस्थापन, कर्मचारीको दरबन्दी व्यवस्थापन, बढ्दो चापलाई मध्यनजर गर्दै सेवा प्रवाहको रणनीति लगायतका विषयमा मन्त्री लामाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले अस्पताल सुधारका लागि मन्त्रालयले गरेका काममा आफुहरु समेत सहयोग गर्न तयार रहेको बताए ।

छलफलमा अस्पताल सुधारका अभियन्ता दिपेन्द्रचन्द ठकुरी, किशोर अर्याल, रामशरण कार्की, कृष्णराज कोइराला र दिनेश वाईवा लामा लगायतको उपस्थिति रहेको थियो ।