बागमती प्रदेश : सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०७९ असार १३, सोमबार ०८:३२

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका छन् । अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा राजनीतिक दलहरुसँग छलफल गर्ने उद्देश्यका साथ बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, बैठक आज (सोमबार) बिहान ८ः३० बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आइतबारबाट अवरुद्ध गरेको संसद् संचालन गर्ने बारेमा छलफल हुनेछ ।

सत्तारुढ दल, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका नेताहरु सहभागी हुने सो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने प्रमुख सचिव खड्काले बताए ।

प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लाहरुलाई समान रुपमा सम्बोधन गर्न नसकिएको भन्दै बजेट संसोधनको मागसहित एमालेले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।  बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संसोधन गरेपछि मात्रै संसद् सुचारु गर्न दिने अडान लिएको छ ।

सभामुख श्रेष्ठले आज बिहान ११ बजे बस्ने गरी प्रदेशसभाको बैठक पनि आह्वान गरेका छन् ।