बागमती प्रदेश : नेकपा एमालेद्वारा बजेट पुस्तिका फिर्ता
मकवानपुर । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि असन्तुष्टि व्यक्त गदै एमालेका सांसदहरुले आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।
एमालेका सांसद्हरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको र यसबाट प्रदेशको समृद्धि हुन नसक्ने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् । प्रदेश सरकारले प्रतिपक्ष दल र बहुमत सांसदलाई व्यवास्ता गर्दै बिना छलफल बजेट ल्याएको र अघिल्ला सरकारले ल्याएका सबै बृहतका योजनाहरु कटौति गरेर टुक्रे योजना ल्याएकाले बजेट पुस्तिका फिर्ता गरेको उनीहरुले जनाएको छ ।
बाइपास गरेर काम सुरु भएका र हुने अवस्थामा रहेका ठुला योजनाहरु समेत काटेर चुनाव लक्षित कार्यक्रमहरु समावेश गरी बजेट ल्याउन नहुने भन्दै विरोध स्वरुप पुस्तिका फिर्ता गरेको एमाले बागमतीका प्रमुख सचेतक एवम् प्रदेशसभा सदस्य दिपक निरौलाले बताए ।
उक्त सार्वजनिक बजेटप्रति एमालेले विरोध जनाउँदै आइतबार बसेको बागमती प्रदेशसभा बैठकसमेत अवरुद्ध गरेको थियो । एमालेको अवरोधपश्चात प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए ।
