बागमती प्रदेशसभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार ०८:४०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

आज बस्ने बैठकमा गत असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने सचिव खड्काले बताए ।

उनका अनुसार, प्रदेशसभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तयार पार्न अपराह्न १२ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

यस्तै, सो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनि प्रस्ताव दर्ता गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयालले जानकारी दिए ।

बागमती प्रदेश सरकारले आगामी आवको लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । उक्त बजेट प्रदेशसभाको असार १ गते बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेका थिए ।

सरकारको आवको लागि कुल ७० अर्व ९३ करोड रुपैयाँको बजेटमध्ये चालुतर्फ १९ अर्व २ करोड रुपैयाँ, पुँजिगत तर्फ ४१ अर्व ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्व रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बागमती प्रदेशसभाको बैठक यसअघि असार २ गते बसेको थियो । सो बैठकमा असार १ गते प्रस्तुत भएको सरकारको बजेटमाथि प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तारुढ दलका सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेको थिए ।