पूर्वाधार विकासतर्फ थाहा नगरको यस्तो छ योजना

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार १५:०८

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । मेयर विष्णु विष्ट आदर्शको सभाध्यक्षतामा भएको एघारौँ नगरसभामा उप–मेयर भरत गोपालीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

थाहाले सडक, यातायात तथा पूर्वाधार निर्माणतर्फ थानकोट—चन्द्रागीरी—चित्लाङ सडक निर्माण सम्पन्न गर्न संघीय र प्रदेश सरकारसंग आवश्यक समन्वय गरिने,
कुलेखानी—कुन्छाल सडक स्तरोन्नति तथा कालोपत्रे गर्न टेण्डर आव्हान भैसकेको र यसलाई समयमै सम्पन्न गर्न प्रदेश सरकार र सम्बन्धीत निकायहरुसंग आवश्यक समन्वय गरिने डाँडाबास—दामगाडे—मोरिया—महादेवबेसी सडक खण्डको निम्ति संघीय सरकार र प्रदेश सरकारबाट करीब एक अर्ब रकम विनियोजन भएको जनाएको छ ।

मकवानपुरको उत्तर—पश्चिम क्षेत्रको विकासको निम्ति उल्लेख्य वजेट विनियोजन गरेर थाहा नगरको विकासमा योगदान दिएको भन्दै आज नगरसभामा संघीय सरकार र प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । आ.व. २०७९/०८० को वजेट मार्फत काठमाडौं—चित्लाङ—पालुङ—चितवन—रामपुर—लुम्बिनी—पोखरा
द्रुत मार्ग निर्माण गर्ने घोषणा गर्दै संघीय सरकारका माननीय अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)ले अन्तर्राष्ट्रिय महत्वको रुपान्तरणकारी परियोजना प्रस्तुत गर्नुभएको र सो परियोजनाले थाहा नगरमात्र नभई सिंगो नेपालको विकासमा अकल्पनिय योगदान गर्ने पालिकाले जनाएको छ ।

हेटौंडापट्टीवाट भीमफेदी सिमभञ्ज्याङ र सिमभञ्ज्याङ—चन्द्रागिरी खण्डमा केवलकार निर्माण गरेर हेटौडा—काठमाडौ केवलकार सम्भाव्यता अध्ययन गरी पर्यटन पूर्वाधार विकास गर्न संघीय, प्रदेश सरकार, नीजि तथा सहकारी क्षेत्रसंग सहकार्य गरिने जनाइएको छ ।

त्यस्तै नगरमा निर्माण भएका सडकहरुको स्तरोन्नती गर्नुको साथै थाहा नगरबाट संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौडासम्म यात्रा गर्न सुरक्षित, सुविधायुक्त पर्यटनमैत्री सार्वजनिक यातायातका साधनहरु नियमित रुपले सञ्चालन गर्न नीजि र सहकारी क्षेत्रसंग सहकार्य गरी आवश्यक व्यवस्था मिलाइने जनाइएको छ । स्थानीय बस पार्कलाई सुबिधा सम्पन्न रुपमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आगामी आर्थिक वर्षमा संभव भएसम्म सडक ग्राभेल नगर्ने र ढलान गर्ने नीति लिइने जनाइएको छ ।

त्यस्तै योजना निर्माण गर्दा प्रत्येक वडाबाट कम्तिमा रु. ४० लाख बराबरको एउटा योजना छनोट गर्नुपर्ने र रु ७ लाखभन्दा तलको योजना छनोट गर्न नपाउने व्यवस्थालाई यथावत गरिने भएको छ । गोलमोड फापरबारी देउराली सडक स्तरोन्नती गर्न आवश्यक पहल गरिने, हस्पिटलचोक–बसपार्क, हस्पिटल चोक–पेट्रोलपम्प, क्याम्पाडाँडा–बसपार्क, विद्युत प्राधिकरण नगरपालिका कार्यालय भवनसम्म सडक विस्तार गरी बजारीकरण गर्न आवश्यक संभाव्यता अध्ययन
गरिने भएको छ ।

इन्द्रायणी चौर खेल मैदान र सार्वजनिक शौचालय निर्माण गर्ने, फेदीगाउँ वस्ती बचाउ, बागेखोला बस्ती बचाउ र टाखेल बस्ती बचाउको लागि थप बजेटको
व्यवस्था गरिने जनाइएको छ । सबै वडामा रहेका सडकहरुको लगत संकलन गरी अभिलेख व्यवस्थापन गरिने भएको छ ।