पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

तु खबर संवाददाता
२०७९ असार १०,शुक्रबार ०९:१६

मकवानपुर । वर्षाका कारण आएको पहिरोले अवरुद्ध मकवानपुरको सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ ।

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनः संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरीका अनुसार, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानैदेखि दुबैतर्फी रुपमा यातायात संचालनमा आएको हो ।

हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।