भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ८, बुधबार १८:२६
file-photo

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध कारोबारमा सजाय भोगिरहेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा उक्त कारगारमा सजाय भोगिरहेका हेटौंडा—२ का मिलन परियारको मृत्यु भएको हो ।

भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङका अनुसार ७ वर्षका लागि कैदी तोकिएको परियारलाई मंगलबार अचानक छाती पोल्ने र दुख्ने समस्य देखिएको थियो । स्वास्थ्यमा समस्या देखिए लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा लगिएको थियो ।

स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि परियारलाई थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरेको थियो । उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । परियारले ७ वर्ष तोकिएको कैद सजायमध्ये ३ वर्ष बिताइसकेका थिए ।

परियारको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । उनको मृत्युको बारेमा भने पाष्टमार्टमको रिपार्ट आएपछि मात्रै थाहाहुने प्रहरीको भनाई छ ।