पुँजी बजार संघर्ष समिति मकवानपुरले बुझायो ज्ञापनपत्र

तु खबर संवाददाता
२०७९ असार ८,बुधबार १४:२९

मकवानपुर । पुँजी बजार संघर्ष समिति मकवानपुरले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको गतिविधिप्रति असन्तुष्टि जनाउँदै बुधबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । स्वदेशी लगानीकर्ताहरुलाई लगानीको वातावरण सिर्जना गर्नुपर्ने बोर्डले उल्टै तर्साउने काम गरिरहेको पत्रमा उल्लेख छ ।

बोर्डले लगानीकर्ताहरुलाई तर्साउने गरी नीति लागू गरेको, ५१ वटा कम्पनीको नामनै सार्वजनिक गरेको र अनुकुल समयमा नीति नियम परिवर्तन गर्नेजस्ता कार्य गरी आफ्नै देशभित्रका लगानीकर्ताहरुलाई रुवाएर वैदेशिक लगानी भित्र्याउने प्रयास गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

पुँजी बजारलाई विश्वसनीय बनाउनुपर्नेमा उल्टै लगानीकर्ताहरुको हकहित, अधिकार कटौती गर्नु, सहमति भएका मागहरु पनि पुरा नगर्नु गलत भएको समितिको बुझाइ रहेको छ । लगानीको प्रत्याभूतिको लागि लगानीकर्ताहरु सडकमा आउनुपर्ने अवस्था आउनु राज्यका लागि लज्जास्पद विषय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘देशको पूँजीबजार विकास र विस्तारका लागि गरिएका विगतका विभिन्न आन्दोलनहरू मध्ये नेपाल सरकार र लगानीकर्ताहरूका संघसंगठनहरूबीच भएका ५८ बुंदे सम्झौता लागु नहुनु, धितोपत्र बोर्डका कर्मचारीहरू कमिशन र भ्रष्टाचारमा लिप्त हुनु, यस्तो निकम्मा धितोपत्र बोर्ड, अर्थ मन्त्रालयको रवैयाप्रति हामी सम्पूर्ण मकवानपुरे लगानीकर्ताहरू खेद प्रकट गर्दछौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।

समितिले लगानीकर्ताहरूको मागलाई नियमनकारी धितोपत्र बोर्ड, नेपाल सरकार अर्थ मन्त्रालयसमेतको पहलकदमीमा समन्वय गरी चाँडै सम्बोधन गर्न नियमनकारी निकाय समक्ष आग्रहसमेत गरेको छ ।