एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने बोर्डको तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिकका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको उनको भनाई छ । राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गतेभित्रमा एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।
अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बताए । यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने तयारी गरेको हो ।
बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत बैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागि थिए ।
