बागमती प्रदेश : मकवानपुरमा ट्रक पार्क निर्माण गर्न बजेट विनियोजन

तु खबर संवाददाता
२०७९ असार २, बिहीबार ०७:५८
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरमा ट्रक पार्क निर्माण गर्न बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेट प्रस्तुत गर्दै यातायात व्यवसायीसँगको सहकार्यमा मकवानपुरको उपयुक्त स्थानमा सुविधा सम्पन्न ट्रक पार्क निर्माण कार्य अगाडि बढाउन सरकारले बजेटको विनियोजन गरेको जानकारी गराएका हुन्

प्रदेश सरकारले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई ९४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । श्रम, रोजगार तथा यातायात क्षेत्रको विकासका लागि उक्त बजेट विनियोजन गरेको उनले बताए ।

प्रदेश राजमार्गका उपयुक्त स्थानमा नीजि क्षेत्रसँगको सहकार्यमा एकीकृत स्मार्ट रिफ्रेस एन्ड ट्रान्सफर सेन्टर तथा प्रदूषण परीक्षण सेवा सञ्चालनमा ल्याउन आवश्क बजेटको व्यवस्था गर्ने, सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गर्न संघीय सरकारसँग सहकार्य गर्न सरकारले बजेटको व्यवस्था गरेको छ ।

सवारी चालक अनुमतिपत्र प्रदान गर्ने व्यवस्थालाई थप सुदृढ गर्न र ट्रायल सेन्टरहरूलाई क्रमशः स्वचालित प्रणालीमा लैजान बजेट व्यवस्था गरिएको छ । यातायात कार्यालयमा रहेका अभिलेखहरुलाई डिजिटाइजेशन गरी व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरु क्रमशः विद्युतीय प्रणालीबाट प्रवाह गर्न सफ्टवेयर निर्माणका लागि बजेट व्यवस्था गरिएको छ । यस्तै, सवारी भाडा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।