बागमती प्रदेश : सामाजिक विकास मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७७ करोड बजेट

तु खबर संवाददाता
२०७९ असार २, बिहीबार ०७:४७

मकवानपुर । बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको लागि ३ अर्ब ७७ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबारको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।

प्रदेश सरकारले सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, सिन्धुपाल्चोकमा निर्माणाधीन दिनेश–रामजी प्राविधिक शिक्षालय आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईने भएको छ । त्यसको लागि १३ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशमा रहेका विभिन्न विद्यालय भवन निर्माण, घेरावार, शौचालय र शुद्ध खानेपानी लगायतका पूर्वाधार निर्माणका लागि रु. ४६ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी वर्ष पाँच विद्यालयलाई आवासीय विद्यालयको रुपमा स्तरोन्नति गरी लोपोन्मुख, अति सीमान्तकृत, अल्पसंख्यक तथा अति विपन्न समदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नमुना विद्यालय विकासका लागि गुरुयोजना कार्यान्वयनमा रहेका विद्यालयको विकासका लागि १० करोड रुपैयाँ, सामुदायिक विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थिति नियमित गराउन विद्यालय बस खरीदका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विद्यार्थीलाई डिजिटल सिकाई सामाग्रीको पहुँच अभिवृद्धि गर्न र विज्ञान प्रयोगशाला स्थापना गर्ने प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया शुरु गर्ने, उच्च शिक्षा परिषद् सचिवालय ब्यवस्थापन र संभाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

वैज्ञानिक खोज अनुसन्धान परिषद स्थापना गरी अनुसन्धानलाई व्यवस्थित ढंगले अगाडि बढाउने, युवाहरुलाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य सहित इनोभेसन सेन्टर स्थापना गर्ने, प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गर्न र हाल संचालित बाल विकास केन्द्रहरूको भौतिक पूर्वाधार विकास गर्न बजेटको व्यवस्था गरिएको छ ।