पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ असार १, बुधबार १०:२८
file-photo

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण भीमफेदी–८ महादेवीटारमा पहिरो जाँदा कान्तिराजपथ अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ रामचन्द्र भञ्ज्याङमा मंगलबार आएको पहिरोका कारण अवरुद्ध सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन हिजोदेखि बैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् ।

उक्त सडकमा रहेको पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।