राक्सिराङमा नीति कार्यक्रम निर्माण गर्नुपूर्व अन्तरक्रिया
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी अर्थिक वर्षको लागि वार्षिक नीति कार्यक्रम तथा बजेट निर्माण गर्नुपूर्व आइतबार सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त बहादुर प्रजाको प्रमुख अतिथ्यता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै राज्यमन्त्री प्रजाले सिमान्तकृत चेपाङहरुको बसोबासको बहुल्यता रहेको यस गाउँपालिकामा विकास पूर्वाधार सँगै शिक्षा, स्वास्थ्य, खानेपानी र समग्र सामाजिक क्षेत्रहरुमा परिवर्तन हुनेगरी नीति कार्यक्रम बनाउन अनुरोध गरेका छन् ।
उनले सडक सञ्जाल जोड्नुका साथै चेपाङसहित तामाङ समूदायका खाद्यान्न, यहाँका पर्यटकीय क्षेत्र, यहाँ उत्पादित मह लगायतका वस्तुहरुको बजारिकरणमा पनि गाउँपालिकाले चासो राख्दै समृद्ध गाउँपालिका बनाउन लागिपर्न सबै निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा २० औं वर्ष सम्मको लागि योजना बनाई कृषि पशुपालन, उद्योग व्यवसाय, व्यापारिक केन्द्रको वृद्धि विकास गर्ने विषयहरु उठान गर्दै स्थानीय सरोकारवालाहरुले राक्सिराङको शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटनको क्षेत्रको विकासमा लाग्नका लागि आवश्यक नीति कार्यक्रम बनाउन सुझाव पेश गरेका थिए ।
त्यस्तै, कार्यक्रममा साना जल विद्युत आयोजनाको थप विकास गरिनुपर्ने, प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने, बाटो, नाला, पुल सहितका पूर्वाधार विकास मात्र नभई गाउँपालिकामा सुशासन कायम गर्न आग्रह गरिएको थियो । गाउँपालिका भित्र विभिन्न गैरसरकारी संस्था तथा विभिन्न सामाजिक संघ/संस्थाको सहकार्य गर्दै पालिकाभित्रका नागरिकलाई समृद्ध बनाउन सोही अनुरुपको नीति कार्यक्रम तथा बजेट बनाउनु पर्नेमा स्थानीय तथा सरोकारवालाहरुले अनुरोध गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, नेकपा एमाले जिल्ला उपाध्यक्ष लालबहादुर थापा, नेपाली कांग्रेस गाउँपालिका सभापति बिरेन्द्र जिम्बा, माओवादी केन्द्रका अध्यक्ष हस्तबहादुर मोक्तान, नेकपा (एस) अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा पालिकाका वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधिहरु, शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला तथा बालबालिका, र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
