दुर्घटनामा तीन जनाको मृत्यु, ८ जना घाइते

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १७:४६
सांकेतिक तस्वीर

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लुहादहबाट शिवपुरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्वरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ वर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० वर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ वर्षीय दर्शन शाही रहेका छन् । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपश्चात थप उपचारको लागि हेलिकप्टरद्वारा सुर्खेत पठाइएको जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको अवस्था गम्भीर रहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।