जिसस मकवानपुरको निर्वाचनको मिति तय गर्न सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १५:५८

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरको निर्वाचनको सन्दर्भमा छलफल गर्न अपराह्न ४ बजे सर्वदलीय बैठक बस्ने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जिसस मकवानपुरको निर्वाचनको मिति तय गर्ने गरी आवश्यक छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

जिसस मकवानपुरको २५ गतेको बैठकले निर्वाचन सम्पन्न गराइदिन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज सर्वदलीय बैठक बसी निर्वाचनको मिति तय गर्न लागिएको हो ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित सात सदस्यको लागि मतदान हुन्छ । मकवानपुरमा ९ जना प्रतिनिधि सहित नेपाली कांग्रेस प्रथम स्थानमा रहेको छ । उसले जिल्लाको ५ स्थानीय तहको प्रमुख तथा ४ स्थानीय तहको उपप्रमुख जितेको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र मतदाताको हिसाबले दोस्रो स्थानमा रहेको छ । माओवादीको २ प्रमुख तथा ५ उपप्रमुख गरी कूल ७ जना मतदाता रहेका छन् । त्यस्तै नेकपा एमालेको २ प्रमुख र १ उपप्रमुख गरी ३ जना मतदाता रहेका छन् । नेकपा एकीकृत समाजवादीको भने एक जना प्रमुख मात्रै मतदाताको रुपमा रहेको छ । जिसस नेतृत्वको लागि कांग्रेस र माओवादी केन्द्रले दावी गरिरहेका छन् ।