सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०९:०८
तस्बिर : तु खबर डटकम

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा यातायात अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको केही भाग भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको छ । करिब २० मिटर सडक भासिएको जनाइएको छ ।