स्थापना दिवसको अवसरमा दुग्ध किसानलाई पुरस्कार वितरण

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १७:३३

मकवानपुर । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको बनदेवी दुग्ध सहकारी संस्थामा आवद्ध किसानलाई पुरस्कार वितरण गरेको छ । संघले सातौं स्थापना दिवसको अवसरमा सहकारीको सदस्य रहेका धेरै, गुणस्तरीय, सफा दुग्ध सहकारीमा बिक्री गर्ने किसानलाई पुरस्कार वितरण गरेको हो ।

सहकारीले धेरै दुग्ध बिक्रीका लागि ल्याउने किसान नैनाकला सिलवाल, बिजयबहादुर बस्नेत, उमा रेग्मी पोखरेल र दिपककुमार खड्कालाई पुरस्कार वितरण गरेको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गरेकी हुन् ।

कार्यक्रममा पुरस्कृत भएका किसानलाई पशुका लागि आवश्यक क्यालसियम, नाम्ले जुकाको औषधी, भिटामिन, खनिज मिश्रण औषधी र लेभटोनीकसहितका आवश्यक औषधिसमेत वितरण गरिएको थियो । संघले सहकारीमा आवद्ध किसानका लागि घरदैलो अभियान गरी ७० जना किसानलाई औषधी वितरण गरेको थियो ।

संघका अध्यक्ष पुरुषोतम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, संघका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. बव्लु ठाकुर, जनप्रिय प्राबिधिक शिक्षालयका मोतीहुर रहमानसहित विभिन्न औषधी कम्पनीका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।