राप्ती हाइड्रोको आइपीओ खुल्ला

तु खबर संवाददाता
२०७९ जेष्ठ २४,मंगलवार १०:२३
file-photo

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओको बिक्री खुल्ला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।