रुपन्देही दुर्घटना : मृतकमध्ये ८ जनाको सनाखत

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १७:४१
सांकेतिक तस्वीर

रुपन्देही । रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका ९ जनामध्ये ८ जनाको सनाखत भएको हो ।
सनाखत भएकामध्ये ३ जना भारतिय नागरिक रहेका छन् । जसमा भारतीय नागरिक अरविन्द शर्मा, नागेन्द्र शर्मा र संजय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यसैगरी सनाखत हुनेहरुमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उपमहानगरपािलका वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल, रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् र तिलोत्तमा–८ घर भएकी तुलसी बस्याल रहेका छन् ।

दुर्घटनामा मृत्यु भएका एक जनाको भने सनाखत गर्ने प्रयास भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । उक्त बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।