हेटौंडामा सवारी दुर्घटना, दाहालको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १८:१०

मकवानपुर । मकवानपुरको हेटौंडामा आज (शुक्रबार) दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो चितवनबाट  हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा बोलेरो सवार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, मृतक दाहालको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरुको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाएको छ ।