दुर्घटनामा परेर एकको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०७९ जेष्ठ २०,शुक्रबार ०९:४५

काठमाडौं । गएराति दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा गएराति रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ  । प्रहरीका अनुसार, सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्वरको ट्याक्टरमा भे ४ प १०३३ नम्वरको मोटरसाइकल ठोक्किँदा शर्मा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट हबल्दारपुर बाँकेले नियन्त्रणमा लिएको छ ।

यस्तै, गएराति नै काठमाडौंको बालाजुमा बागमती प्रदेश ०२–१९ प २३६४ नम्वरको स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक तारकेश्वर नगरपालिका ४ शेषमति बस्ने २९ वर्षीय मानबहादुर गुरुङ र पछाडी सवार नुवाकोट घर भई हाल तारकेश्वर नगरपालिका १ बस्ने ३० वर्षीय राजु तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये तामाङको अवस्था गम्भीर छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । गुरुङको भने बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको छ ।