ज्यान मार्ने उद्योग मुद्दामा फरार वडा सदस्य पक्राउ

जनकपुर । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्य राजेश बिराजी रहेका छन् ।
बिराजी ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले पक्राउ गरेको हो । बिराजी गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन नेकपा माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
उनलाई कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।