बजेट भाषणः औद्योगिक पूर्वाधारका लागि ३ अर्ब, निजगढ विमानस्थललाई पनि बजेट छुट्याइयो
काठमाडौँ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन् ।
देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।
चितवनको शक्तिखोर, भैरहवा, सुनसरी लगायतका क्षेत्रमा यस्ता औद्योगिक ग्राम र क्षेत्र निर्माण हुने जनाइएको छ ।
त्यस्तै सरकारले न्यूनतम १० करोड रुपैयाँ भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म महशुल छुट दिने भएको छ । अर्थमन्त्री शर्माले उद्योगको उत्पादन बढाउन न्यूनतम २ देखि १५ प्रतिशतसम्म बिजुली महशुल छुट दिने बताएका छन् ।
त्यस्तै सरकारले सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।
गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।
