मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
विराटनगर । मोरङमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेलबारी नगरपालिका–१० भाउन्नेमा को १० प ३५९९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका वडा नम्वर ११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आज बिहान ६ बजेतिर मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्वरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्वरको ट्याक्टरमध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइनसकेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । बस र ट्याक्टर तथा दुबै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
