बागमती प्रदेशसभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार ०८:५८

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेको लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार, आजको बैठकमा प्रि बजेटमाथि छलफल हुनेछ । प्रदेशसभाको शुक्रबारबाट सुरु भएको दशौँ अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रि बजेट पेश गरेका थिए । उक्त प्रि बजेटमाथि आज संसदमा छलफल हुने भएको हो ।

यस्तै, शुक्रबार नै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो । सरकार संचालनका क्रममा अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएका कारण सदनमा पेश गरिएको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका हुन् ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गरे । त्यस्तै, प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरिएको छ । सदनमा पेश भएका अध्यादेशशरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ ।