मकवानपुर प्रहरीको सेटिङमा गाईगोरु तस्करी

बलराम पुडासैनी
२०७९ जेष्ठ ७, शनिबार २१:५२

मकवानपुर । शुक्रबार भैरहवाबाट हेटौंडा हुँदै अवैध रुपमा तस्करी हुँदै गरेको एक ट्रक गाईगोरु पशु क्वारेन्टाइन चेकपोष्ट पथलैयाले नियन्त्रणमा लियो । तस्करले गाईगोरु ओसार पसारको कानूनी आधार पेश गर्न नसकेपछि पशु क्वारेन्टाइन चेकपोष्ट पथलैयाले ढुवानी मापदण्ड विपरित गाईगोरु ओसारपसार गरिएको भन्दै ५ हजार रुपैयाँ गरिवाना गरी जहाँबाट संकलन गरेको हो, त्यहिँ लगेर छाड्न निर्देशन दियो ।

पशु क्वारेन्टाइन चेकपोष्ट पथलैयाबाट नियन्त्रणमुक्त भएपछि शुक्रबार नै गाईगोरु बोकेको ना ६ ख ३०९८ नम्वरको उक्त ट्रक गाईगोरु संकलन भएको स्थान (भैरहवा) तर्फ नगई हेटौंडा– ७ कमानेतर्फ हानियो । सो ट्रक कमानेतर्फ गएको स्थानीयवासीले बताएका छन् । ‘ट्रक कमानेतर्फ गएको हामीले देखेका छौँ । यसरी गोरु बोकेको ट्रक यहाँबाट प्रायजसो कमानेतर्फ नै जाने गरेको हामी देखिरहन्छौँ ।’ रातोमाटेस्थित एक जना स्थानीयले तुखबसँग भने ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले खोज अनुसन्धान गर्दा सो ट्रक कमानेस्थित (नाम नलेखिएको र बोर्डसमेत नभएको) कृषि फर्ममा पुर्याइएको अवस्थामा फेला पार्यो । उक्त फर्मका संचालक गोकर्ण घिमिरे हुन् । शुक्रबार राति गाइगोरु सोही फर्ममा राखियो । शनिवार विहानसम्म पनि गाईगोरु फर्ममा बाँधिएको अवस्थामा नै थियो भने ट्रक सोही फर्मको गेटमा रोकेर राखेको अवस्थामा फेला पर्यो ।

भैरहवा फिर्ता पठाइएको उक्त ट्रक कमानेमा फेला परेपछि भेटेरिनरी अस्पतालमा प्रमुख ब्रज किशोर ठाकुरले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई जानकारी गराएर ‘स्टिङ अप्रेशन’ को तयारी गरे । सहायक प्रजिअ गैह्रेले सुरक्षा निकायलाई ‘स्टिङ अप्रेशन’ टोलीका लागि आवश्यक सुरक्षा सहायता उपलब्ध गराइदिन आग्रह गरे ।

त्यसको केही घण्टापछि भेटेरिनरी अस्पतालका प्रमुख, सहायक प्रजिअसहितको टोली कमानेतर्फ लाग्यो । तर, टोली पुगेको करिब डेढ घण्टापछि मात्रै प्रहरी त्यहाँ पुग्यो ।

‘टोली पुग्दा गाईगोरु गाएब, डेढ घण्टा ढिलो गरी पुग्यो प्रहरी’

विहानसम्म सोही फर्ममा राखिएको गाईगोरु प्रशासन टोली पुग्दा घटनास्थलमा भेटिएन । विहानसम्म फर्ममै बाँधिएको गाइगोरु ना ६ ख ३०९८ नम्वर ट्रकमा लोड गरेर तस्करले पुनः नेपालको पूर्वी नाकातर्फ लगेको बुझिएको छ । तस्करले प्रहरीकै सहयोगमा गाईगोरु सहितको ट्रक नाका कटाएको आशंका गरिएको छ ।

प्रशासन टोली पुग्दा फर्म खाली भइसकेको दृष्य

यता, सुरक्षा सहायता उपलब्ध गराउने सन्दर्भमा मकवानपुर प्रहरी चुकेको देखिन्छ । ‘स्टिङ अप्रेशन’ को लागि सहायक प्रजिअ गैह्रैले थप सुरक्षा सहायता माग गर्दै तत्काल घटनास्थलमा सुरक्षा परिचालन गर्न मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङलाई आग्रह गरेको भएपनि प्रशासन टोली फिल्डमा पुग्दा प्रहरी आइपुगेन ।

 

प्रशासन टोली पुग्नुअघि फर्ममा राखिएको गाईगोरु

सहायक प्रजिअ गैह्रेले पटक पटक प्रहरीलाई फोन सम्पर्क गरेपछि मात्रै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोली करिब डेढ घण्टा ढिलो गरेर घटनास्थलमा आइपुग्यो ।

इलाका प्रहरी कार्यालय पशुपति नगरदेखि घटनास्थलसम्मको दुरी करिब ५–७ किलोमिटरको मात्रै छ । प्रहरीलाई घटनास्थलसम्म पुग्न लाग्ने समय करिब १०–१२ मिनेट मात्रै अनुमान गर्न सकिन्छ । तर, प्रहरी निकै ढिलो आइपुग्यो ।

प्रशासन टोली पुग्नुअघि कृषि फर्मको गेटमा रोकिएको ट्रक

प्रहरीको बहानाः ‘मतगणनाले गर्दा ढिलो भयो’

तुखबरले यस विषयमा मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीसमक्ष जिज्ञासा राख्दा उनले मतगणना भइरहेकोले प्रहरी टोली घटनास्थलतर्फ जान ढिलो भएको प्रतिक्रिया दिए ।

‘अहिले निर्वाचनको मतगणना भइरहेको तपाईहरुलाई थाहा नै छ, हामी त्यता व्यस्त भएकोले घटनास्थलतर्फ जान ढिलाई भएको हो । अन्य कुनै कारण छैन । आवश्यक परेको ठाउँमा हामीले सुरक्षा सहायता उपलब्ध गराउँदै आएका छौँ ।’ प्रवक्ता कार्कीले भने । तर, मतगणनास्थलमा राखिएको प्रहरी अन्य घटनामा परिचालन गर्ने प्रावधान नहुने स्रोत बताउँछ । अन्य घटनाको लागि परिचालन गर्ने टोली तयारी अवस्थामा रहेको हुन्छ । प्रहरीले तस्करसँगको सेटिङमा यसअघि पनि पटक–पटक अवैध रुपमा गाईगोरु निर्यात गर्न सघाउँदै आएको थियो ।

किन हुन्छ तस्करी ?

तस्करले नेपालको पश्चिमी क्षेत्रबाट सस्तोमा गाईगोरु संकलन गरी नेपालको बाटो भएर काँकडभिट्टा नाका हुँदै बंगलादेशसम्म पुर्याउँछ । त्यहाँ बध गरेर गाईगोरुको मासु युरोपियन मुलुकमा निर्यात गरिन्छ ।

भारतको पनि केही प्रान्तमा गाईगोरु ओसारपसार प्रतिवन्ध छ । वेस्ट बंगालको नाकाबाट भने लुकीछिपी ओसारपसार हुने गरेको पाइन्छ । सिक्किम र दार्जलिङ सहरमा गाईगोरुको मासु निर्वाध उपभोग गर्ने गरिन्छ । त्यसका लागि पनि नेपालको पूर्वी नाकाबाट गाईगोरु अवैध तस्करी हुने गरेको छ ।

मकवानपुर हुँदै बर्षौदेखि गाईगोरुको तस्करी हुँदै आएको छ । प्रशासनले त्यसको नियन्त्रणका लागि खासै गतिलो कदम चालेको देखिँदैन । बरु, तस्करलाई सघाउँदै आएको छ ।

के छ कानूनी व्यवस्था ?

नेपालमा गोवध प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– २७ मा पशुपन्छी सम्बन्धी कसुरबारे उल्लेख गरिएको छ । उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने उल्लेख छ ।

त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ । गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना प्रावधान छ ।

कानूनले पशुपन्क्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा अथवा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपन्क्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न पाइँदैन ।

यदि त्यस्तो गरेको पाइएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

त्यस्तै पशु ढुवानी मापदण्ड, २०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो तोकेको छ । ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था उक्त मापदण्डमा उल्लेख छ ।

मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाध्नु नहुने तथा कोचेर राख्नु नहुने स्पष्ट रूपमा खुलाइएको छ । आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा सङ्ख्याको विवरण प्रष्ट देखिनेगरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रीम जानकारी गराउनुपर्ने व्यवस्था छ ।