निर्वाचन अधिकृतको कार्यालय परिसर तनावग्रस्त, सेना परिचालन

तु खबर संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १८:५०

काठमाडौँ । धरानको वडा नं २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएको विवाद बढ्दै जादा निर्वाचन अधिकृतको कार्यालय परिसर तनावग्रस्त बनेको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले उग्र प्रर्दशन र नाराबाजी गरिरहेका बेला कांग्रेसका कार्यकर्ताहरुले पनि नाराबाजी गर्न थालेपछि तनाव बढेको हो । स्थिति तनावग्रस्त भएपछि सुरक्षाको लागि नेपाली सेना पनि परिचालन भएको छ। अहिले निर्वाचन अधिकृतको कार्यालयलाई तीन घेरामा जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको छ । मतगणना कार्य स्थगित छ ।

वडा नं २० को मतगणना भइरहँदा मतदान अधिकृतको हस्ताक्षर विनाको १८ वटा मतपत्र भेटिएको थियो । उक्त मतपत्रबारे सर्वदलीय बैठकमा बदर हुने र मतदान अधिकृतलाई विभागीय कारबाहीको लागि सिफारिश गर्ने निर्णय भएको थियो । वडा २० को मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार पदम लिम्बुसँग माओवादीका उम्मेद्वार विजय लामा ४ मतले पछि परे ।

हस्ताक्षर नभएको १८ मतपत्रमध्ये ११ वटामा माओवादी केन्द्रको भोट थियो । आफ्नो उम्मेद्वार मात्र ४ मतले पराजित हुने भएपछि वडा नं २० का माओवादी नेता, कार्यकर्ताहरुले नाराबाजी गर्दै विरोध शुरु गरेका थिए । माओवादी केन्द्रले १८ वटा मतपत्र सदर गर्नुपर्ने भन्दै नाराबाजी र प्रर्दशन गरिरहदा नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि नाराबाजी सुरु गरेका थिए। कांग्रेस कार्यकर्ताहरुले मतगणना सकिएकोले घोषणा गर्नुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । दुवै पक्षबीच आमनेसामने भएर विरोध प्रर्दशन हुँदा झपड हुने खतरा भएपछि नेपाली सेनासहित थप सुरक्षाकर्मी परिचालन भएको हो ।

निर्वाचन अधिकृत पुष्करराज नेपालले निर्वाचन आयोगसँग समन्वय गरेर माओवादी केन्द्रको लिखित माग पेश गर्न आग्रह गरेको र आयोगको निर्णय अनुसार अघि बढ्ने जानकारी दिए ।