हेटौंडाका सडक आज बिहानैदेखि सुनसान

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार ०७:३९

मकवानपुर । आज स्थानीय तह निर्वाचनको दिन बागमती प्रदेशको राजधानी हेटौंडाका सडकहरु बिहानैदेखि सुनसान छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् ।

आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ । सडकमा निर्वाचनको सुरक्षाका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् ।

सडकहरुमा सुरक्षाकर्मीले पेट्रोलिङ, गस्ती गरिरहेका छन् । मकवानपुरमा मतदान प्रारम्भ भइसकेको छ । मतदान प्रक्रियामा बिहानै मतदाताहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।