मकवानपुरको महक – ३ : ‘आफैँसँग’ अन्तर्लाप

सञ्जय साह मित्र
२०७९ बैशाख २७,मंगलवार १०:१३

मकवानपुर । रमेश मोहन अधिकारी धेरैकी आमा हुन् । उनी साहित्य जन्माउँछन् र साहित्यकार पनि जन्माउँछन् । साहित्यिक संस्था तथा पत्रिका जन्माउने आमा पनि हुन् अधिकारी । अधिकारीले दुई थरीका कृति जन्माएका छन् ः साहित्यिक र गैरसाहित्यिक । गैरसाहित्यिक कृतिमा नेपाली व्याकरणसित सम्बन्धित दुई कृति रहेका छन् । गैरसाहित्यिक कृतिभन्दा साहित्यिक कृतिको सङ्ख्या दोब्बर रहेको छ ।
रौतहटको विश्रामपुरमा जन्मेर चन्द्रनिगाहपुरमा हुर्के बढेका अधिकारी अहिले हेटौंडा निवासी बनेका छन् ।

नेपालीमा एमए, एमएडसम्मको अध्ययन गरी मुख्य गरी मकवानपुर र केही वर्ष रौतहटको शिक्षण सेवामा जीवन अर्पण गरेका अधिकारी झरना साहित्यिक परिवार छतिवन, जूनकिरी साहित्य परिवार फापरबारी, सूर्योदय प्रतिष्ठान चन्द्रनिगाहपुर र सूर्योदय पुस्तकालय चन्द्रनिगाहपुरको स्थापनामा ठूलो भूमिका निर्वाह गरेका छन् । विभिन्न साहित्यिक संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न रहेका अधिकारीले सूर्योदय, जूनकिरी, झरना, समनपुष्प, चन्द्रोदयजस्ता आवधिक साहित्यिक पत्रिकाका सम्पादन गर्दै प्रकाशनमा अन्तर्य भूमिका निर्वाह गरेका छन् भने चन्द्रोदय प्रभाको पनि सम्पादन गरेका छन् ।

अधिकारीका सम्झनाको सेरोफेरो (२०६३), घुम्तीहरू छेलिएपछि (२०७४), गुराँस र युद्ध (२०७५) र आफैँसँग (२०७८) गरी चार कृति प्रकाशित छन् । यीमध्ये तेस्रो कृति कविता सङ्ग्रह हो भने बाँकी सबै अर्थात् तिन ओटा कृति संस्मरण/नियात्रा छन् । आफैँसँग कृतिमा सङ्कलित रचनाहरू संस्मरण छन् र नियात्रा पनि छन् । यसमा सङ्कलित अधिकांश रचना विभिन्न पत्रपत्रिकामा पहिले नै प्रकाशित भएका छन् ।

कृतिभित्रको पहिलो रचना हो – पाथीभरा : एक यात्रा । पाथीभरा दर्शनको चाँजोपाँजोदेखि मन्दिरमा पुग्दासम्मको यात्रालाई यसमा जिज्ञासापूर्ण किसिमले वर्णन गरिएको छ । अधिकारीकी अधिकारिनीले यस यात्रामा पाउनु परेको दुःखलाई पनि यसमा उल्लेख गरिएको छ । यो रोचक यात्रा वृत्तान्त हो । निर्मोहीको मोह – संस्मरण हो । साहित्यकार निर्माेही व्याससितका सान्निध्यहरू, तिनबाट पाएको अन्तप्र्रेरणा तथा निर्माेहीप्रतिका भावनाहरूको चित्र यसमा प्रस्तुत गरिएको छ । निर्मोहीसित चित्लाङबाट फर्किँदाको यात्रा पनि मोहक शैलीमा प्रस्तुत छ । निर्मोहीप्रतिको सम्मोहनको भाव नै यस रचनाको अन्तर्य हो ।

साहित्यिक यात्रा जुम्लाको – तेस्रो क्रममा परेको रचना हो । यो नियात्रा हो । यात्रामा देखिएका सबै कुराको साङ्गोपाङ्गो क्रमिक वर्णन यसमा रहेको देखिन्छ । पाठकलाई यस्तो लाग्छ कि म पनि सँगसँगै छु र सबै कुरा हेर्न पाइरहेको छु । अत्यन्तै रोचक शीर्षक हो – जिउँदै बैकुण्ठ । मकवानपुर जिल्लाको एउटा दुर्गम पहाडी गाउँको यात्राको वर्णन गरिएको यस नियात्रालाई पढेर पूरा नगरुञ्जेल उत्सुकता बढिरहन्छ । यसमा पर्याप्त मात्रामा पूर्वदिप्तीको प्रयोग गरिएको छ ।

ससम्मान समर्पण गरिएको संस्मरण हो – भय र स्नेहका पर्याय । रौतहटेली शिक्षामा अविस्मरणीय नाम ध्रुवमोहन अधिकारी कृतिकार अधिकारका ठुल्दाजु हुन् । बाल्यकालदेखि यादहरूको लहरमा लहरिँदै गरेका अधिकारीलाई यसमा देख्न सकिन्छ । यद्यपि शिक्षासेवी अधिकारीको जीवनको कुनै पनि पाटोलाई यसले राम्ररी केलाउन सकेको छैन । ठुल्दाजुसितका यादलाई अझ भावनात्मक र पाठकका लागि अझ हार्दिक बनाउन सकिने गरी लेख्न पाए आहा हुन्थ्यो यो संस्मरण । हाम फाल्दै कैलाश – शीर्षकको नियात्रा पनि मकवानपुरसितै सम्बन्धित छ । कैलाश पर्वतको सेरोफेरोमा पुग्नुपर्दाको कठिनाइ र हृदयको रमाइलोलाई यसमा अभिव्यक्तिएको छ ।

अलिकति अल्छी मानेर लेखिएको र सारनाथ हेर्न छुटाएकोमा अलिक नमज्जा लागेको रचना हो – बनारस घुमघाम । मलाई के लागेको छ भने बनारस घुम्न जानु एउटा तीर्थयात्रा हो भने बिएयुमा पुगेर एउटा मन्दिरको दर्शन गरेर एक शिक्षित वा साहित्यकार फर्किनु भनेको बनारसको घुमघाम होइन । बिएचयु परिसर, पुस्तकालय तथा परिसरभित्रैको भवन र भव्यता यहाँ छुटाइएको छ । व्यक्तिप्रति सम्मान गरेर लेखिएको अर्को रचना हो – गुरु शिवचन्द्रसँगको सान्निध्य । यस संस्मरणमा बाल्यावस्थामा शिक्षक शिवचन्द्र साहसित पढ्दादेखि आफू शिक्षक भएर हाजिर हुन जाँदा साह प्रअ भएकै विद्यालयमा पुग्नु र यसपछिका आत्मीयतालाई हृदयार्कण गर्ने किसिमले लेखिएका सन्दर्भहरू छन् ।

पापा भैया रुकैया चले कन्हैया – शीर्षकको रचना कृष्ण जन्मथलोको भनिएको छ । कृष्णको जन्मथलो मथुरा हो र यस रचनामा मथुरा उल्लेख गरिए पनि मलाई लाग्छ मुख्य घटना गोकुलको हो । यसमा जसरी भनिएको छ, त्यसरी गोकुलमा गराउँछ र यस पङ्क्तिकार पनि यसरी क्षुब्ध बनेको थियो त्यहाँ पुगेर । यद्यपी हार्दिक ठाउँ पनि हो यो । मथुरामा कृष्ण जन्मेको झ्यालखान अहिले पनि प्रस्तरनिर्मित हो जस्तो लाग्छ । वृन्दावन पनि अलिक टाढा नै छ । पूर्वको पहिलो यात्रा – सानो त छ नै, साथै परिष्कार गर्नुपर्ने थियो अझै यसलाई । हेटौंडाबाट हिँडेपछि इलामतर्फ लाग्दै गर्दा यसको अन्त्य भएको छ । यो केवल वृत्तान्तमा सीमित भएजस्तो लाग्छ । बेफुर्सती फुर्सती – मा साहित्यकार तथा पूर्वशिक्षक रामचन्द्र आचार्यसितका सान्निध्यहरू समेटिएका छन् । फुर्सतीप्रति यथोचित सम्मान दर्शाइएको यस रचनाबाट अधिकारी र फुर्सतीका कतिपय पक्षबारे जान्न सजिलो हुन्छ पाठकलाई ।

हरिद्वारबाट हरिद्वारतिरै – रचनामा हरिद्वारमा पुगेका यादहरूलाई सङ्कलन गरिएको छ । यो जानकारीमूलक रचना हो । पतञ्जलि योग पीठ र यसको आयुर्वेदिक अस्पतालको बारेमा पनि अलिकति जानकारी यसमा दिइएको छ । अस्पतालमा पुगेर गराइएको उपचारको कथानकलाई अलिक विस्तार गर्न सकेको भए अझ जानकारीमूलक हुन पाउँथ्यो । इलाम पुगेर हृदय पुलकित भएको रचना हो – आहा कन्याम ! आहा ध्वजेडाँडा ! यस नियात्रामा पहिलोचोटि चिया बगान हेरेको सन्दर्भलाई पनि पूर्वदिप्तीको माध्यमले समेत प्रस्तुत गरिएको छ । बाटोमा एक जिम्मेवार व्यक्तिलाई एक गाउँको बाटो सोध्दा अमिल्दो बाटो देखाएको सन्दर्भले भने पाठकको पनि रिस उठ्छ त्यस पात्रप्रति । साहित्यकार श्रेष्ठ प्रिया पत्थरसितका सम्झनाहरूलाई समेटिएको रचना हो – श्रेष्ठ प्रियासँगका केही झल्याकझुलुक । शीर्षकले भनेजस्तै विषय र सन्दर्भ यसमा अटाएका छन् । पत्राचारको सन्दर्भ भने अनुकरणीय छ ।

घुमफिर गर्नेको लागि आगराको ताजमहल पनि एउटा आकर्षण हुने गर्दछ । यहाँ पुगेर लेखक रमाएका छन् तर, यहाँ पुग्दादेखि निस्कँदासम्मको प्राविधिक पक्षमा बढी जोड दिएका छन् । झन् एक जना साथी हराउँदाको पीडाबोध र खोजको कर्मलाई समेट्ने गरी शीर्षक नै दिइएको छ – आगरामा साथी हराउँदा । सबैले बुझेको सत्य यसमा पनि उल्लेख गरिएको छ कि एक शासकले आफ्नी रानीको स्मृतिमा यसलाई निर्माण गराएका हुन् । तर, पछिल्ला दिनहरूमा ताजमहललाई तेज महालय वा तेज महल हो भनेर पनि भन्न थालिएको छ । यहाँ कुनै शिवालय वा देवालय रहेको सन्दर्भ समय समयमा आउने गरेको छ । साथी हराउँदा के भयो ? हराएका साथी कहाँ गए ? जस्ता जिज्ञासालाई थाँती राख्दै यो रचना टुङ्गिँदा यो नियात्रा नभएर अन्त्यको दृष्टिकोणले कथा हुन पुगेको जस्तो अनुभूति हुन्छ । आक्को साल फेरी आउँला है राराताल – शीर्षकको रचनामा राराताल पुग्दाको अवस्था, त्यहाँको वस्तुस्थिति, थकाइ र अञ्जु मैमलाई परेको समस्यालाई पनि उल्लेख गरिएको छ । रारामा गरिएको साहित्यगोष्ठी भने अविस्मरणीयताको अर्को पाटो बन्न पुगेको छ ।

कसैलाई नबिझाउने अप्सरा – साहित्यकार अप्सरा पुडासैनीप्रति समर्पित संस्मरण हो । अप्सरासितका सान्निध्य र व्यावहारिक, शैक्षिक तथा साहित्यिक प्रसङ्गहरूले उनलाई चिन्नेहरूको स्मृतिलाई निकै ताजा बनाउँछ यस रचनाले । कोरोना भाइरसको आक्रमणमा परेको अवस्थाको इमानदार अभिव्यक्ति हो – कोरोना फन्दा । कोरोना भाइरसले आक्रमण गरेको थाहा पाएपछि स्वमनोविज्ञान, परिवार मनोविज्ञान तथा कोरोनाले गाह्रो परेको अवस्थाको बारेमा अझ केही अनुच्छेद पढ्न पाएदेखि हुन्थ्यो भन्ने लागिरहन्छ यस रचनालाई पढिसकेपछि । यद्यपी यस रचनाले धेरै सकारात्मक सन्देशहरू प्रवाह गर्न सफल भएको छ । धैर्य धारण गर्नुपर्ने, परिवारमा एकता र सहयोग तथा बिरामीको उच्च मनोबल जस्ता अनुकरणीय पक्षहरू यस रचनाका गहन सन्देशहरू हुन् । ऐतिहासिक स्थलप्रति गौरवबोध गरी लेखिएको रचना हो – फरी जान मन छ खलङ्गा । यो पनि जानकारीमूलक नियात्रा हो । र, कृतिको अन्तिममा दिइएको छ – मेरो प्यारो राकेश । यसमा एक इमानदार, गुरुभक्त, अनुशासित तथा जेहेनदार शिष्यप्रति एक गुरुले दिने श्रद्धाञ्जलिभाव रहेको छ र अन्तिममा पाठकलाई सम्वेदित बनाउँछ ।

कृतिमा दुई प्रकृतिका रचनाहरूले प्रधानता पाएका छन् – स्थानमूलक र व्यक्तिमूलक । शीर्षकमा पनि यही दुई प्रवृत्तिलाई प्राथमिकता दिइएको छ । यस कृतिलाई स्थानप्रधान नियात्रा र व्यक्ति प्रधान संस्मरणको संयोग भन्न सकिन्छ । झरना साहित्यिक परिवार मकवानपुरले प्रकाशन गरेको यस कृतिको नामसँगै पहिलो भित्री पृष्ठमा संस्मरण तथा नियात्रासङ्ग्रह भनिएको छ । प्रकाशक संस्थाका अध्यक्ष दीपक गौतमको प्रकाशकीयमा … रमेशमोहन अधिकारी नेपाली संस्मरण र नियात्रा–लेखनको क्षेत्रमा सुपरिचित नाम हो ……………… र, एक स्थापित नियात्राकार तथा संस्मरणात्मक रूपमा सुपरिचित हुँदै हुनुहुन्छ भनी उल्लेख गरेका छन् ।

कृतिमा आएको लेखकको मन्तव्यमा कतै निबन्ध भनिएको छैन । कृतिको नामसित विधा छुट्याउँदा संस्मरण तथा नियात्रा भनिएको छ तर, निबन्ध–क्रम भनिएको छ । निबन्ध र संस्मरण/नियात्राको सम्बन्धबारे कम्तीमा एक वाक्य भए पनि लेखक वा प्रकाशकले लेखेका भए सुनमा सुगन्ध हुने थियो जस्तो मलाई लागेको छ ।

कतिपय रचना दैनिकीजस्ता हुन पुगेका छन् । दुई ठाउँमा र दुई शीर्षकमा रहेका यस्ता रचनालाई एउटै बनाउँदा पनि हुन्थ्यो जस्तो पनि लाग्छ । भावुकताको अभाव, भावनापरकता हुन नसक्नु, आत्मीयता र हार्दिकताबोधको कभी यस कृतिका सीमाहरू हुन् भने विवरणात्मकता, चित्रात्मकता, कतै वर्णनात्मकता र सन्दर्भगत पूर्वदिप्तीको प्रयोग यस कृतिका सबल पक्ष हुन् । सरलता यस कृतिको सम्पत्ति हो र सहजता यसको प्राप्ति । आफैँ पुगेको जस्तो अनुभूति गराउन सक्नु यस कृतिको खुबी हो । यस कृतिमा आएका शीर्षकहरूमध्ये जान मन लागेको समयमा यस कृतिका तत् तत् रचनालाई एकचोटि पढेर त्यहाँ पुग्दा यात्रुलाई सजिलो हुन्छ । यस अर्थमा यो कृति सङ्ग्रहणीय पनि छ । बौद्धिक साहित्यका पाठकलाई यो कृतिमा साहित्यिकताको अभाव पनि महसुस हुन सक्छ ।

समग्रमा यस कृतिले रमेशमोहन अधिकारीलाई पनि परिचित गराउन सजिलो भएको छ । बाल्यकालको स्वभाव र रुचि, पढाइको अवस्था, दाजुहरूसितको सम्बन्ध र अहिलेसम्मको शिक्षणको अवस्थाबारे यस कृतिले जानकारी गराउने सामथ्र्य राख्दछ । कृतिकार अधिकारीको व्यक्तित्व र कृतित्व दुवैबारे जान्न चाहनेलाई यस कृतिले यथेष्ट सामग्री दिएको छ भने रचनाधर्मितामा पनि स्पष्ट पहिचानको एउटा गोरेटो निर्माण गरेको छ । आगामी सिर्जनात्मक कृति अझ सशक्त आउने विश्वास लिन सकिन्छ किनभने कृतिकार एक ठाउँमा भन्दछन् – यात्रा गर्नु छ जीवभर र लेख्नु पनि छ जीवनभर ।