हेटौंडा–११ मा सत्ता गठबन्धनको र्याली

तु खबर संवाददाता
२०७९ बैशाख २६, सोमबार १७:३३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा सत्तारुढ गठबन्धनको आयोजनामा निर्वाचन लक्षित र्याली कार्यक्रम सम्पन्न भएको छ । सोमबार हेटौंडा–११ सिमलटार टोल विकास संस्थाबाट सुरु भएको उक्त र्याली ११ नम्वर वडाको सबै स्थान परिक्रममा गरी सिमलटारमा नै पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस हेटौंडा–११ का सभापति दिपक उप्रेतीको सभाध्यक्षता तथा कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उपाध्याय डीनाले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा–११ को वडाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मधु थापा मगर (विशेष) को उम्मेदवारी रहेको जानकारी गराउँदै उनलाई मतदान गर्न सबै वडावासीहरुलाई आग्रह गरिन् ।

उनले निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भए हेटौंडा–११ का सबै सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नुका साथै अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले वडामा शिक्षा, स्वास्थ्य, खानीपानीलगायत विकास पूर्वाधारको काम गर्ने बताइन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका नेता प्रकाशचन्द्र पाण्डे, नेपाली कांग्रेस मकवानपुरका पूर्व जिल्ला सभापति माइकल रामचन्द्र अर्याल, कांग्रे मकवानपुरका नेता आनन्दराम पराजुली, कांग्रेस नगर सभापति उत्सव इटेनी, मेयर उम्मेदवार मीना लामा, उपमेयर उम्मेदवार राजेश बानियाँ, वडाध्यक्ष उम्मेदवार विशेष, वडा सदस्यका उम्मेदवारहरुलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।