हेटौंडाका जनप्रतिनिधिले स्वास्थ्य समस्यको समाधान गर्न पहल गरेन : तामाङ

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार १८:०६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिहरुले स्वास्थ्य समस्याको समाधानको लागि केही पहल नगरेको आरोप लगाएका छन् ।

आइतबार हेटौंडाको हुप्राचौरमा भएको निर्वाचन लक्षित आमसभालाई सम्बोधन गर्दै उपाध्यक्ष तामाङले हेटौंडामा धेरै अघिदेखि नै स्वास्थ्य समस्या देखिएको तर, यहाँका नेता तथा निर्वाचित जनप्रतिनिधिहरुले ती समस्याको समाधानको लागि केही पहल नगरेको आरोप लगाएका हुन् ।

उनले आफुलाई हेटौंडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरुले अस्पतालको विकास गर्न नसकेको बताए ।

उनले हेटौंडामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिहरुले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गरे । साथै उनले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर पदमा राप्रपाबाट दिपकबहादुर सिंहलाई उम्मेदवार बनाएको बताउँदै सिंहको सक्षम टिमलाई जिताउन आग्रह गरे ।