चुनाव प्रचारप्रसारमा बालबालिको प्रयोग नगर्न आग्रह

तु खबर संवाददाता
२०७९ बैशाख २४, शनिबार १६:३२

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय  हेटौंडाले निर्वाचन आचारसंहिताको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । कार्यालयले यही बैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्र्दभमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै निर्वाचनको क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका लागि तत्काल निर्वाचन कार्यालयमा सूचना दिन जिल्लावासीहरुलाई आग्रह गरेको हो ।

यस्तै, बैठकले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने/गराउने निर्णय गरेको छ । यसैगरी, बैठकले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीले सामाजिक संञ्जालमा कुनै राजनीतिक दलको प्रचारप्रसारमा संलग्न रहेको देखिएकोले निजलाई उक्त सहायक निर्वाचन अधिकृतको पदबाट हटाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।