सार्वजनिक स्थानमा राखिएको दलको झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको सूचना दर्ता बारेमा विभिन्न निर्णय गरेको छ ।
कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचारप्रसारमा संलग्न रहेको भनी उजुरी सूचना रहका ११ जना कर्मचारीहरुले स्पष्टीकरण पेश गर्न भई जानीनजानी केही कमजोरी भएको भए सो सच्याई आचारसंहिताको परिपालनामा पूर्ण प्रतिबद्धता जनाएकोले निजहरुलाई कुनै पनि दल र उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचारप्रसारमा संलग्न नहन, सामाजिक सञ्चालबाट चुनाव प्रचार सम्बन्धी सामाग्री तत्काल मेटाउन र निजहरुलाई आसन्न स्थानीय तह निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा नखटाउने निर्णय गरेको छ ।
यस्तै, आमसभामा एक जना पत्रकारले सम्बोधन गरेको भन्ने विषयमा निज पत्रकारले पत्रकारको हैसियतले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा आचारसहिंता विपरित समाचार सम्प्रेषण नगरेको र आचारसंहिता परिपालना गर्ने प्रतिबद्धता व्यक्त गरेको कुरालाई मध्येनजर गर्दै निजलाई आचारसंहिता परिपालनामा सजग रहन निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले सार्वजनिक स्थानहरुमा दलको झण्डा र चुनाव चिन्ह राख्ने दल र उम्मेदवारहरुलाई तत्काल सार्वजनिक स्थानहरुबाट सो हटाउन निर्देशन दिने, निजी घरआवासहरुमा सम्बन्धित घर धनीको अनुमतिविना टासिएका पम्प्लेट तत्काल हटाउन सम्बन्धित दललाई निर्देशन गर्ने, सार्वजनिक यातायातमा राखिएका झण्डा र चुनाव चिन्ह, तत्काल हटाउन लगाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति ।

