गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जान्छ : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन विपरित मतदान गरे देश ठूलो दुर्घटनामा जाने बताएका छन् ।
अध्यक्ष प्रचण्डले बिहीबार चितवनको भरतपुरमा भएको पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुर महानगरपालिकामा गठबन्धनका कार्यकर्ताहरुले हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताएका हुन् ।
उनले चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताए । उनले चितवनवासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गरे । उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा गरेको स्मरण गरे ।
उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे । उनले भने, ‘अघिल्लो चुनावमा चितवनमा कांग्रेससँग गठबन्धन गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न नरुचाएका कारण शेरबहादुर देउवालाई सोधेर नै बाम गठबन्धनमा जान्छु भनी नढाँटीकन गएका हौं ।’
