गठबन्धनको जितले शैक्षिक क्षेत्र सवलीकरण बन्नेछ : लामा
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार मीना लामाले गठबन्धनको जितले उपमहानगरको शैक्षिक क्षेत्र सवलीकरणतर्फ अघि बढ्ने दावी गरेकी छन् ।
बुधबार नेपाल शिक्षक संघ, नेपाल एकीकृत शिक्षक संघ र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघद्वारा संयुक्त आयोजित विद्यालय शिक्षाको विकास र सुदृढिकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लनेकपा एमालेले व्यापक राजनीतिककरण गरेको शैक्षिक क्षेत्रलाई गठबन्धनबाट मेयर र उपमेयर विजयी भएपछि सवलीकरणतर्फ अघि बढाउने उनले दावी गरेकी हुन् ।
लामाले तीन कार्यकाल एमालेले नेतृत्व लिएको उपमहानगरको शैक्षिक क्षेत्रलाई राजनीतिककरणतर्फमा धकेल्ने काम भएको आरोप समेत लगाइन् । ‘गठबन्धनको जितपछि उपमहानगरको शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर लोभ लाग्दो शैक्षिक गुणस्तरमा ध्यान पुर्याउने छौं ।’ उनले भनिन्, ‘सामुदायिक वा निजी दुबै शैक्षिक संस्था बराबर हैसियतको बनाउने र दुबैमा उतिकै गुणस्तरीय शैक्षिक कार्यक्रम अघि बढाउनेतर्फ हाम्रो ध्यान रहनेछ ।’ उनले शैक्षिक क्षेत्रमा शिक्षकको समस्यामा पनि अधिक रहेकोले ऐन, नियम, नीतिमै व्यवस्था गरेर दीर्घकालीन समाधानमा जोड दिने बताइन् ।
यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार राजेश बानियाँले आफु हेटौंडा–५ को वडा अध्यक्ष हुँदा विद्यालय सुधारमा महत्वपूर्ण काम गरेको स्मरण गराए । उनले २५ लाख खर्च गरेर हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा भवन निर्माणसँगै शैक्षिक संरचनाको विकास गर्दा १ सय ८० जना अध्ययन गर्ने विद्यालयमा एक हजार विद्यार्थी पुगेको बताए ।
‘गरिब, विपन्नको छोराछोरी अध्ययन गर्ने एउटा सामुदायिक विद्यालयको विकास एउटा वडा अध्यक्षले ध्यान दि“दा हजार विद्यार्थी बढे ।’ उनले भने, ‘गठबन्धनको जितपछि उपमहानगरपालिकाको हरेक विद्यालय गुणस्तरीय शिक्षाका लागि नमूनालायक बनाउनेछौं ।’उनले गुणस्तरीय शिक्षासँगै शिक्षकको बृद्धि विकास उनीहरुका समस्यालाई पनि समाधान गर्न अग्रसर हुने धारणा राखे । बानियाँले शिक्षकका दजनौं समस्या बर्षौंदेखि ज्यूँकात्यूँ रहेको अवस्थामा व्यवस्थानै बदलेर भएपनि समस्या समाधान गर्नै प्रतिबद्धता व्यक्त गरे ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष छवि अनित्य, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघका उपाध्यक्ष बद्री गौतम, नेपाल एकीकृत शिक्षक संघ बागमती प्रदेश सदस्य भोगेन्द्र लुईंटेललगायतको आतिथ्यता रहेको थियो ।
