गठबन्धनको घोषणाः ३०० युनिट विद्युत निशुल्क
मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनमार्फत् आज प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो ।
प्रतिवद्धतापत्रमा उपमहानगरबासीलाई ३ सय युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ । ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने मेयरकी उम्मेदवार मीना लामाले घोषणा गरिन् ।
उनले एक घर एक रोजगारीलाई प्राथमिकता राख्नुका साथै न्यून मध्यम व्यावसायिक कार्यका लागि सिप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।
नगरभित्र हरेक घरमा मासिक १२ हजार लिटर खानेपानी निःशुल्क गर्ने पनि घोषणा गरिएको छ । हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाइएको छ । हरेक वर्ष कम्तीमा ५ जनालाई एमबीबीएस अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नुका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरु प्रतिबद्ध रहेको छ ।
उपमेयर पदका उम्मेदवार राजेश बानियाँले प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले नगरभित्रका नदी खोलाहरुको व्यवस्थापन गरी अस्थायी स्वीमिङ पुल निर्माण, जलबिहार तथा पार्कहरु निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको छ । धार्मिक क्षेत्रहरुको सुधार तथा पर्वद्धन गर्नुका साथै हरेक वडामा फलफूलको बगैचा बनाउने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
नगरमा सुविधासम्म सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गर्ने कुरामा पनि गठबन्धनका उम्मेदवारहरुले ध्यान दिएक छन् । भोकाहरुको खानाको व्यवस्थापन गर्ने पनि प्रतिवद्धता जनाइएको छ । नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिवद्ध बनेको छ भने नगरस्तरीय नाट्याशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।
