जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २०, मंगलवार ०९:४०

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । सोमबार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तरकुमार सिग्देल रहेका छन् । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।