मकवानपुर दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २०, मंगलवार ०८:२७
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएको छ । सोमबार निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा र लेनडाँडा नजिकै भएको लोडर दुर्घटना परेर गम्भीर घाइते भएका थप एक चिनिया नागरिकको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यससँगै उक्त दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परेर यसअघि सोमबार २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक सबै पुरुष हुन् । उनीहरुको सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेजमा पठाइएको जनाइएको छ । फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेको थियो । लोडरमा ५ जना चिनियाँ र एक जना नेपाली नागरिक रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।