वडा अध्यक्ष बनेर जनहितका काम गर्ने योजना छ –पाख्रिन
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनकोे चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरु गाउँ÷नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । तु खबरले विभिन्न पदमा उम्मेदवारी दिएका फरक–फरक व्यक्तिहरुसँग उनीहरुको पृष्ठभूमि, सामाजिक योगदान, विकासका एजेण्डालगायतका विषयमा जान्ने प्रयास गर्दै आएको छ ।
मकवानपुुरको मनहरी गाउँपालिका वडा नम्वर–२ मा माओवादी केन्द्रको तर्फबाट राजकुमार पाख्रिनले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । २०४० सालमा गणेशबहादुर पाख्रिन र कल्पनामाया पाख्रिनको जेठो सन्तानको रुपमा जम्मिएका राजकुमारको जीवन संघर्षमय छ । साविकको हाँडिखोला गाउँ विकास समिति वडा नम्वर ५ स्थित नव जागृती प्राथमिक विद्यालयमा कक्षा ५ सम्म र साविक हाँडिखोला–६ स्थित महेन्द्र ज्योति निमावीमा उनले कक्षा ८ सम्मको अध्ययन पुरा गरे ।
राजकुमारले २०६१ सालमा नेकपा माओवादी निकट तामाङ् राष्ट्रिय मुक्ति मोर्चाको सदस्यको जिम्मेवारीमा रही राजनीतिक यात्राको प्रारम्भ गरे । २०६३ सालमा वाइसियल साविक हाँडिखोला गाउँ कमिटीको सदस्य भई काम गरेका उनीे २०६४ सालमा वाइसियल साविक हाँडिखोला गाउँकमिटी उपाध्यक्ष भए र २०६५ सालमा वाइसियलकोे जिल्ला सदस्यको जिम्मेवारी पाए ।
२०७० सालमा मोहन बैद्यले नेतृत्व गरेको पार्टीको जिल्ला सदस्य हुँदै २०७१ मा विप्लव नेतृत्वको पार्टीको जिल्ला सचिवालय सदस्य तथा जनसरकार प्रमुख भएका थिए । २०७६ सालमा विप्लव नेतृत्वको नेकपा प्रतिवन्धित भएपछी ९ महिना जेल जीवन विताएका राजकुमार २०७८ सालमा पुरानै घरमा फर्किए । त्यसपश्चात राजकुमारले नेकपा माओवादी केन्द्रको जिल्ला सचिवालय सदस्य र मनहरी गाउँकमिटी इन्चार्ज भएर काम गर्दै आएका छन् ।
मनहरीमा बसेर विभिन्न सामाजिक संघ सस्थामासमेत आवद्ध भई उनले सामाजिक क्षेत्रमा बलियो उपस्थिति जनाएका छन् । आफु जनतासंग सँधै नजिक रहेको र आफुले जनहितको कार्यमा सक्रियता देखाएकै कारण पार्टीले विश्वास गरी वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि बढाएको उनी बताउँछन् ।
उनले मनहरीको जुनतारा साँस्कृतिक खेल तथा समाज विकास परिवारको संस्थापक अध्यक्ष, बस्तिपुर जेसीजको संस्थापक सदस्य, त्रिरत्न प्राथमिक विद्यालयको अध्यक्ष दीगो कृषि सहकारी संस्थाको अध्यक्ष, मनकामना मध्यवर्ती सामुदायिक वन उपभोतmा समूहको अध्यक्ष तथा सीता माध्यमिक विद्यालयको अध्यक्षलगायतका जिम्मेवारीहरु सम्हालिसकेका छन् ।
वडा अध्यक्ष निर्वाचित भएपछि विभिन्न योजना बनाई वडालाई नमूना वडाको रुपमा विकास गर्ने उनको योजना छ । ‘नमूना कामसमेत गरेर देखाउँछु, एक पटक जनाले विश्वास गरेर मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’ उनले भने । उनले वडा अध्यक्ष भएपछि युवाहरुलाई खेलकुद र सीपमुलक तालिमको व्यवस्था मिलाउने, बुद्धबृद्धाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, महिलालक्षित कार्यक्रम ल्याउने, कृषि क्षेत्रलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै लैजाने, बालबालिका र विद्यार्थीहरुलाई व्यवसायिक शिक्षामा जोड्ने, अध्ययन कार्यमा प्रोत्साहन गर्नेलगायतका काम गर्ने योजना रहेको उनी बताउँछन् ।
