श्रमिक वर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य हो : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । आज मनाइदै गरिएको १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकहरुलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
उनले भने, ‘श्रमिकहरुको सीप र दक्षता अभिवृद्धी गर्न विभिन्न तालिमहरु संचालन गर्दै क्षमता अनुसारको काम र काम अनुुसारको दाम पाउने वातावरण निर्माण गरी श्रमिक वर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।’
‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । साथै, श्रमअधिकार सुनिश्चितताको लागि आफ्नो जीवन बलिदान गर्ने सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ जारी सन्देशमा उल्लेख छ ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन भन्ने नाराका साथ उठाईएकोे संघर्षबाट प्राप्त अधिकार उपयोग गर्ने दिनका रुपमा आजको दिनलाई श्रमिक दिवस भनेर स्मरण गर्ने गरिएको शर्माले बताए । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर संचालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिकवर्गको अतुलनीय भूमिका रहेको प्रष्ट पारे ।
नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन पश्चात् २०७२ सालमा बनाईएको संविधानले श्रमजीविवर्गका हक–अधिकार सुनिश्चित गरेको प्रमुखको सन्देशमा भनिएको छ । प्रमुख शर्माले आजको दिनले विश्वभरिका श्रमजीवीहरूलाई अझ ससक्त ढंगले एकताको सूत्रमा बाँध्न सघाउ पु¥याउने आफूले विश्वास व्यक्त गरे ।
