मकवानपुरमा १३५ जनाले उम्मेदवारी फिर्ता लिए

तु खबर संवाददाता
२०७९ बैशाख १७, शनिबार १०:५०

मकवानपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन गराएका १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका १० स्थानीय तहमा कुल दुई हजार ६७ जनाले उम्मेदवारी दिएका मध्ये शुक्रबार १३५ जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता संगै अब जिल्लामा प्रमुख, उप्रमुख र सदस्यमा गरी कुल १ हजार ९ सय ३२ जनाको उम्मेदवारी रहेको छ । उम्मेद्वारी फिर्ता लिनेमा हेटौंडा उपमहानगरपालिकामा ४९ जना, थाहा नगरपालिकामा १५ जना, बकैया गाउँपालिकामा १८ जना, ईन्द्रसरोवर गाउँपालिकामा ८ जना, बागमती गाउँपालिकामा ५ जना, भीमफेदी गाउँपालिकामा एक जना, मकवानपुरगढी गाउँपालिकामामा ११ जना, राक्सिराङ गाउँपालिकामा २१ जना रहेका छन् ।

त्यसैगरी उम्मेदवारी फिर्ता लिनेमा कैलाश गाउँपालिकामा ३ जना र मनहरी गाउँपालिकामा ४ जना रहेका छन् । मकवानपुरमा आउँदो वैशाख ३० गते हुने स्थानीय चुनावमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । यसअघि २०७४ भएको स्थानीय निर्वाचनमा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ जना रहेको थियो ।