हेटौंडा उपमहानगरपालिकाः को हुन् मेयर पदकी उम्मेदवार लामा ?
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटी मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारहरु गाउँ/नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । विगतमा भन्दा यसपटक चुनावी मैदानमा युवा उम्मेदवारहरु धेरै छन् । तु खबरले विभिन्न पदमा उम्मेदवारी दिएका फरक–फरक व्यक्तिहरुसँग उनीहरुको पृष्ठभूमि, सामाजिक योगदान, विकासका एजेण्डालगायतका विषयमा जान्ने प्रयास गर्दै आएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनबाट बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिको मेयर पदकी उम्मेदवार मिना लामा २०३३ साल पुष २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी हुन् । मिना शुक्रवीर लामा र सीतादेवी लामाको जेठी छोरी हुन् । बाल्यकाल साधारण रुपमा व्यतित गरेकी उनको राजनीतिक यात्रा २०४६ सालबाट सुरु भएको हो ।
विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेकी उनले हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयाबाट एसएलसी उत्तिर्ण गरिन् । त्यसपश्चात उनले अध्ययनका लागि मकवानपुर बहुमुखी क्याम्पस रोजिन् । मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरी उनले हरिखेतान बहुमुखी क्याम्पस वीरगंजबाट एलएलबी अध्ययन गरिन् ।
अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएकी लामाले अनेरास्ववियुबाट राजनीति सुरु गरेकी थिइन् । २०५२ सालमा उनले अनेरास्ववियु मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् । सोही क्रममा २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार हेटौंडा–१, चाईना क्वाटरका व्यवसायी सुनकुमार लामासँग उनको विवाह भएको थियो ।
पारिवारिक साथ, सहयोग र मायाले अध्ययन, राजनीतिक जीवनलाई सफलतापूर्वक अघि बढाएकी लामाको दुई सन्तान छन् । लामाले २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको जिम्मेवारी पाइन् भने २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन् । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य हुँदै लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्षसमेत भइन् । लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको रुपमा भारी मतले विजयी भइन् । उनी त्यतिबेला एमालेबाट उम्मेदवार थिइन् ।
लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो ।
