केन्द्रले भागबण्डा गरेलगत्तै हेटौंडाको नेतृत्व लिन दलका उम्मेदवारहरुको दौडधुप

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १३:४७

मकवानपुर । सत्ता गठबन्धनको मंगलबार बसेको केन्द्रीय बैठकले हेटौंडा उपमहानगरपालिको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउने गरी सहमति गरेसँगै यहाँको राजनीति गर्माएको छ । गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मेयर पाउने चर्चा चलिरहेको बेला केन्द्रले हेटौंडा उपमहानगरमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा अघि बढ्ने तयारी गरेपछि उम्मेदवार टुंगो लगाउने विषय निकै पेचिलो बन्दै गएको हो ।

निर्वाचन आयोगले देशैभर वैशाख ११ गते उम्मेदवारी मनोनयनको मिति तय गरिसकेको छ । सो अगावै उम्मेदवार टुंगो लगाइसक्नुपर्ने बाध्यता दलहरुलाई छ । आफ्नो भागमा मेयर परेपछि नेकपा एकीकृत समाजवादीले कसलाई अघि बढाउने भन्ने सन्दर्भमा छलफल तीव्र पारेको छ । समाजवादीले यसअघि हेटौंडाको मेयरमा बहालवाला उपमेयर मिनाकुमारी लामा र पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई सिफारिस गरेको छ । यी दुईमध्ये गठबन्धनबाट एक जना उम्मेदवार हुने लगभग निश्चित बनेको छ ।

आफु अग्रज पनि भएको र ४ दशकको राजनीतिक यात्रामा हालसम्म संसदीय फाँटमा रहेर काम गर्ने अवसर नपाएको कारण पनि यसपटक मेयरमा आफ्नो पक्षमा सहमति जुट्नुपर्ने अध्यक्ष पोखरेलले बताएका छन् । ‘म अग्रज पनि हुँ । ४२ बर्षको राजनीतिक यात्रामा हालसम्म कुनै संसदीय फाँटमा रहेर काम गरेको छैन । मसँगै सिफारिस हुनुभएको मिना जीले उपमेयर भएर काम गर्ने मौका पाइसक्नु भएको छ, त्यसकारण यसपटक मेरै नेतृत्वमा चुनावमा जान उहाँले पनि सहयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास हो ।’ उनले भने । यता, लामाले आफु उपमेयर भएर एक पटक काम गरिसकेको र उपमेयर हुँदा गर्न बाँकी रहेको काम मेयर भएर पुरा गर्ने बताउँदै आएकी छिन् ।

उपमेयरको सन्दर्भमा कांग्रेस हेटौंडा उपमहानगर समितिले तारा राई कार्की, इन्दिरा न्यौपाने र अमृता थापाको नाम सिफारिस गरेको छ । तर, कांग्रेसले नेता राजेश बानियाँलाई अघि बढाउने तयारी गरेको स्रोत बताउँछ । सत्तागठबन्धनको सबैभन्दा ठूलो दल भएकोले हेटौंडामा मेयर पाइन्छ भन्नेमा ढुक्क रहेका कांग्रेसका नेताहरुले उपमेयरमा खासै चासो देखाएका थिएनन् । अघिल्लो निर्वाचनमा मेयरमा पराजित आनन्दराम पराजुली र नेता प्रभातकुमार दाहाल मेयरको चर्चामा थिए । केन्द्रले हेटौंडामा कांग्रेसलाई उपमेयरमा सिमित गरेपछि राजेश बानियाँको विकल्प नरहेको स्रोतले दावी गरेको छ ।