मकवानपुरको मनहरीमा चप्पल र कागजको प्लेट उद्योग संचालन

तु खबर संवाददाता
२०७९ बैशाख ६, मंगलवार १६:०७

मकवानपुर । मकवानपुरको मनहरीमा चप्पल र कागजको प्लेट उद्योग संचालनमा आएको छ । मनहरी गाउँपालिका वडा नम्वर ६ मा बसोबास गर्दै आएका अनिस राईले  उक्त उद्योग संचालनमा ल्याएका हुन् ।

मंगलबार संचालनमा आएको उद्योगको उद्घाटन मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरेका हुन् । अध्यक्ष उप्रेतिले राईको व्यवसायलाई सहज बनाउन मेसिनरी सामग्री हस्तान्तरण गरे । राईले संचालनमा ल्याएको उद्योगलाई गाउँपालिकाबाट निरन्तर साथ र समन्वय हुने उनका भनाई छ ।

राईले ८ लाख ५० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था मनहरीबाट ऋण लिएर उद्योग संचालनमा ल्याउएको जानकारी दिए । दैनिक ५ सय जोर चप्पल उत्पादन गर्ने उद्देश्यसहित उद्योग संचालनमा ल्याईएको संचालक राईको भनाई छ । जसमा भवन निर्माणका लागि ३ लाख रुपैयाँ, मेसिनरी खरीदमा ३ लाख रुपैयाँ र चप्पल बनाउने सामाग्री खरीद गर्न २ लाख ५० हजार रुपैयाँ लागत लागेको उनले बताए । उद्योगमा ४ जनाले रोजगारी पाउने भएका छन् ।