बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

तु खबर संवाददाता
२०७९ बैशाख २, शुक्रबार १२:२०
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बेसिगाउँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटना परेर गम्भीर घाइते भएका उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।