बागमती प्रदेश : आजबाट टाइफाइडविरुद्धको खोप प्रदान गरिने

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार ०८:१७

मकवानपुर । बागमती प्रदेशमा आज (शुक्रबार) देखि टाइफाएडविरुद्धको खोप अभियान सुरु हुने भएको छ । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा पनि आजबाट १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप प्रदान गर्न लागिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी बैशाख १८ गतेसम्म संचालन गरिने निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार, सो अवधिमा प्रदेशभरका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

खोप अभियान संचालनको लागि प्रदेशभर ६ हजार ५ सय २० वटा केन्द्र निर्धारण गरिएकोमा ८० प्रतिशत भन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले बताए । खोप लगाउनको लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार ९ सय ६३ जना स्वयंसेवक परिचालन हुनेछन् । खोप अभियान सकिएपछि पनि सरकारले टाइफाइड खोपलाई नियमित खोपको रुपमा समेट्ने जनाइएको छ । हरेक बच्चा जन्मिएको १५ महिना उमेर पुगेपछि लगाउने गरी टाइफाइड खोप नियमित गर्न लागिएको जनाइएको छ ।

खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटेको निर्देशक श्रेष्ठले जानकारी दिए ।