मातृभूमि साहित्य समाजले विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजका अध्यक्ष माधब पोख्रेलले आगामी चैत्र २६ गते विभिन्न विधाका व्यक्तिलाई सम्मान गर्ने जानकारी दिए ।
नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ बाट काठमाडौंका शक्ति बल्लभलाई प्रदान गरिनेछ । संगीतकार बल्लभलाई नगद २० हजार रुपैयाँ राशिसहित सम्मान गरिने पोखरेलले बताए । यस्तै, गोरखाका छन्द कवि सिताराम अधिकारीलाई होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान, पर्वतका सायित्कार गंगा पौडेललाई मायादेवी मातृभूमि पुरस्कार, नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान गरिने पोखरेलले बताए ।
मकवानपुरका नाट्य क्षेत्रका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई राजकुमार स्मृति मातृभूमि सम्मान गरिने छ भने लामो समय मकवानपुरमा पत्रकारिताका गर्दै आएका पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष पोख्रेलले बताए ।
भ्वाइस अफ किड्सका विजेता जेनिश उप्रेतीलाई मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र मकवानपुरका सामाजिक अभियान्ता सरस्वती बर्तौलालाई मञ्जु सुवेदी स्मृति सम्मान २०७८ प्रदान गरिने जनाइएको छ ।
