गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा दीप प्रज्वलन

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार ०८:५०

मकवानपुर । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित पशुपति मन्दिरमा जीपी कोइराला फाउण्डेशन मकवानपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा फाउण्डेशनका मकवानपुर संयोजक नारायण लम्सालको सभाध्यक्षतामा भएको हो । सो क्रममा प्रमुख अतिति कांग्रेसका नेता सिंहले सशस्त्र संघर्षरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको अग्रणी र नेतृत्वदायी भूमिका रहेको बताउँदै माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकोले नै संविधान सभाबाट संविधान निर्माण गर्ने सफलता मिलेको बताए ।

कांग्रेस शान्ति र संविधानप्रति प्रतिबद्ध रहेको भन्दै उनले गिरिजाप्रसाद कोइरालाको दीर्घकालीन सोचका कारण मुलुकमा शान्ति स्थापना सफल भएको चर्चा गरे । यस्तै, फाउण्डेशनका मकवानपुर संयोजक लम्सालले गिरिजाप्रसाद कोइरालाको नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको भन्दै कोइराला लोकतान्त्रिक आन्दोलकका अथक योद्धा भएको बताए ।

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका महासमितिहरु विष्णु लामिछाने, जयराम लामिछाने, प्रभात दाहाल, कांग्रेस थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, प्रदेशसभा समिति क्षेत्रीय सभापति राजेश बानियाँ, फाउण्डेशनका सचिव रामहरी तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।