बागमती प्रदेश प्रथम खेलकुद : क्रिकेटको उपाधि मकवानपुरलाई

तु खबर संवाददाता
२०७८ चैत्र ७, सोमबार १७:५१

मकवानपुर । प्रदेश खेलकुद परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले हात पारेको छ । सोमबार सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनल खेलमा धादिङलाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको हो ।

धादिङले टस जितेर मकवानपुरलाई व्याटिङको निम्तो दिएको थियो । सुरुवाती व्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाउन सफल भयो । मकवानपुरका लागि रिजन ढकालले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएका थिए ।

१ सय ५७ रनको लक्ष्य पाएको धादिङ २० ओभर मा १ सय २४ रनमा अलआउट भएपछि मकवानपुरले खेल २४ रनले जितेको हो । धादिङका लागि उज्ज्वल थापाले सर्वाधिक ४० रन बनाएका थिए । बलिङतर्फ मकवानपुरका रिजन ढकालले ४ विकेट हात परे । म्यान अफ द म्याच मकवानपुरका रिजन ढकाल भए । उपाधि विजेता मकवानपुरले ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हेटौंडामा भएको पुरुष फुटबल प्रतियोगिताको उपाधि पनि मकवानपुरले हात पारेको थियो । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जितसँगै मकवानपुरले नगद एक लाख रुपैयाँ र उपविजेता बनेका ललितपुरले नगद ८० हजार रुपैयाँसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।