ट्रकको ठक्करबाट युवकको मृत्यु
धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्वरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावल रहेका छन् । दुर्घटनामा परेर घाइते भएका रावलको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीले ठक्कर दिने ट्रक र चालक सुर्खेतको वराहाताल गाउँपालिका– १० का ३१ वर्षीय बुद्धिराम सुनारलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
